|  

भोटेकोशी बाढीः नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति

१८ असोज, कामठाडौं । नेपाली तथा विदेशी वैज्ञानिकहरूले भोटेकोशी नदीमा बाढी ल्याउने हिमपहिरो भदौ १० गते बिहान ८ बजेर ३७ मिनेट १६ सेकेन्डमा झरेको पत्ता लगाएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी र भूकम्पविद् शिव सुवेदीको नेतृत्वमा गरिएको अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल ‘सेस्मिका’मा प्रकाशित भएको छ।नेपाल र चीनमा जडान गरिएका ४५ वटा भूकम्प मापक यन्त्रबाट प्राप्त तरङ्गको विश्लेषणका आधारमा हिमपहिरोको समय र गति पत्ता लगाइएको हो ।

अध्ययनअनुसार हिमपहिरो झर्नुभन्दा १७ मिनेटअघि उक्त क्षेत्रमा २।५ म्याग्निच्युडको भूकम्प गएको थियो।भौगोलिक उचाइको विविधताका कारण पहिरो पछि आएको बाढीको बहाव अति तीव्र रहेको अध्ययनबाट खुलेको छ ।

प्रतिवेदनअनुसार पहिलो २५ किलोमिटरसम्म बाढी प्रतिघन्टा १६३ किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो । नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रतिघन्टा ३३ किलोमिटरमा झरेको थियो ।

भूकम्पीय तथ्याङ्कले पहिरो खसेलगत्तैको पहिलो १५ मिनेटमा अत्यधिक उच्च ऊर्जा तथा कम्पन रहेको र त्यसपछि बाढीको बहावसँगै त्रिशूली किनारमा घण्टौँसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ ।