|  

सन्तानको दीर्घायु र सुखसमृद्धिको कामनासहित मनाइने जितिया पर्वको व्रत समापन

१८ असाेज, काठमाडाैं । सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै थारू समुदायका महिलाले मनाउने जितिया पर्वको निराहार व्रत आइतबार समापन भएको छ।

तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेर मनाइने यस पर्वमा महिलाहरूले शनिबार दिनभर पानीसमेत नखाई व्रत बसेका थिए। शुक्रबार राति ‘ओगटन’ खाएर व्रत सुरु गरेका महिलाले आइतबार बिहान नुहाइधुवाइ गरी विधिपूर्वक फलाहार वा अन्न ग्रहण गर्दै व्रत समापन गरेका हुन्।

यसैबीच, थारू समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिमी क्षेत्र तथा माडीमा जितिया पर्वको विशेष रौनक देखिएको छ। परम्परागत सांस्कृतिक पहिरनमा सजिएका महिलाहरू झाम्टा नाच्दै र जितियाका गीत गाउँदै पर्व मनाएका छन्। व्रतका क्रममा महिलाहरू बिहानै नुहाइधुवाइ गरी चोखो कपडा लगाएर निराहार बस्ने परम्परा छ। उनीहरू दिनभरि झाम्टा नृत्यमा रमाउने गर्छन्। बेलुकीपख खोलामा गएर पिनाले नुहाउने र पातमा पिना राखेर बगाउने धार्मिक विधिसमेत पूरा गरिन्छ। त्यसपछि सामूहिक रूपमा भेला भएर जितियाको कथा सुन्ने चलन छ। सन्तानको दीर्घायु, सन्तान प्राप्ति तथा परिवारको सुखशान्तिको कामनासहित मनाइने जितिया पर्व थारू समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहँदै आएको छ। यस पर्वले समुदायको मौलिक परम्परा, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई समेत उजागर गर्छ।