|  

आईपीयू महासभामा सहभागी हुन सभामुख अर्याल तान्जानिया जाँदै

१८ असाेज,काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार तान्जानिया प्रस्थान गर्दैछन्।

असोज १९ देखि २३ गतेसम्म तान्जानियाको अरुशामा हुने महासभामा सभामुख अर्यालले नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। उनी आइतबार साँझ कतार एयरवेजको क्यूआर ६४५ उडानमार्फत दोहा हुँदै तान्जानिया जाने कार्यक्रम छ। प्रतिनिधिमण्डलमा सभामुखकी पत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महतो तथा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन्। त्यस्तै, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयकी सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि टोलीमा छन्।

महासभाको ‘समावेशिता, विश्वास र अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदाय सशक्तीकरण’ विषयक छलफलमा सभामुख अर्यालले सम्बोधन गर्नेछन्। महासभामा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ का रूपमा हिमालयसहित जोखिमपूर्ण क्षेत्रमा जलवायुजन्य विपद् सामना र उत्थानशीलता सुदृढ गर्ने विषयलाई समेत अघि बढाइनेछ। उक्त विषयमा नेपालले प्रस्ताव पेस गर्ने तयारी गरेको छ।महासभाअन्तर्गत विभिन्न बैठकमा नेपाली सांसदहरूले पनि सहभागिता जनाउनेछन्। एसियाली संसदीय सभामा झक्कुप्रसाद सुवेदी, फोरम अफ वुमन पार्लियामेन्टेरियन्समा अञ्जान शाक्य तथा युवा सांसदहरूको फोरममा रविन महतो सहभागी हुनेछन्। महासचिव पाण्डेयले संसद् महासचिव संघको बैठकमा संसदीय संरचना, कोष तथा क्षमता निर्माणसम्बन्धी विषयमा प्रस्तुति दिने कार्यक्रम छ।

महासभाका क्रममा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसँग द्विपक्षीय तथा साइडलाइन बैठकसमेत हुने बताइएको छ। आईपीयू महासभा सकेपछि सभामुख अर्याल नेतृत्वको टोली केन्या जानेछ। केन्याका सभामुख डा. मोसेस एम. वेताङउलाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले त्यहाँको संसद्को औपचारिक भ्रमण गर्नेछ। भ्रमण सम्पन्न गरी टोली असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम छ।