१८ असाेज, काठमाडौं । दसैं नजिकिँदै गए पनि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा खुल्न सकेको छैन।
टिकट बुकिङको मिति तय नहुँदा दसैंमा घर जाने तयारीमा रहेका यात्रु अन्योलमा परेका छन्। पोखरा, चितवन र भैरहवा जस्ता सहज तथा धेरै विकल्प भएका गन्तव्यका लागि केही यातायात कम्पनीले अनलाइनमार्फत टिकट बिक्री गरिरहेका छन्। तर, दुर्गम तथा यातायातका विकल्प कम भएका गन्तव्यका लागि भने अग्रिम बुकिङ खुलाइएको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार टिकट बुकिङका विषयमा सरकारी निकायसँग निरन्तर छलफल भइरहेको छ। उनका अनुसार तत्कालका केही दिनका टिकट बिक्री भइरहे पनि दसैं सुरु भएपछि जाने यात्रुका लागि औपचारिक बुकिङ खुलाइएको छैन। सामान्यतया दसैंलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले रुट इजाजत खुला गरेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउँदै आएको थियो। यस वर्ष पनि सरोकारवालासँग विभिन्न चरणमा छलफल भए पनि बुकिङ खुलाउने मिति भने तय भएको छैन। पूर्वाधार विकास समितिको अनुमानअनुसार यस वर्ष दसैंमा करिब १० लाख यात्रुले काठमाडौं उपत्यका छाड्न सक्छन्। यातायात व्यवसायीले भने यात्रुको संख्या अझ बढी हुन सक्ने बताएका छन्।
जहाजका टिकट भने धमाधम बिक्री
सार्वजनिक यातायातको अग्रिम बुकिङमा अन्योल देखिए पनि हवाई टिकटको माग भने उच्च छ। बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार २८ असोजदेखि १ कात्तिकसम्मका अधिकांश गन्तव्यका टिकट करिब शतप्रतिशत बिक्री भइसकेका छन्। दसैंअघि काठमाडौं बाहिरिने यात्रुको चाप अत्यधिक रहेकाले हवाई उडानमा ‘वानवे अकुपेन्सी’ देखिएको छ। बाहिरिने जहाज भरिभराउ हुँदा काठमाडौं फर्किने उडानमा भने यात्रु कम हुने अवस्था रहेको एयरलाइन्सले जनाएको छ। यती एयरलाइन्सका पनि ८० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन्। पोखरा, विराटनगर र भैरहवा जस्ता ट्रान्जिट गन्तव्य मानिने विमानस्थलमा यात्रुको चाप बढी रहेको कम्पनीले जनाएको छ।सडकमार्गमा पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ खण्ड तथा बीपी राजमार्गमा समस्या रहेकाले केही यात्रुले हवाई यात्रा रोज्न थालेका छन्। यस वर्ष २५ असोजमा घटस्थापना, ३१ असोजमा फूलपाती र ४ कात्तिकमा विजयादशमी परेको छ। पूर्वाधार विकास समितिका अनुसार घटस्थापना र फूलपातीका दिन काठमाडौं बाहिरिने यात्रुको चाप अत्यधिक हुने अनुमान गरिएको छ। विशेषगरी फूलपातीका दिन घर फर्किने यात्रुको संख्या सबैभन्दा धेरै हुने अनुमान छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar