|  

नेशनल मेडिकल कलेजको बेथितिविरुद्ध सांसद अन्सारीको गर्जन, विद्यार्थीको पूर्ण ऐक्यबद्धता

१९ असोज, काठमाडौं । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा देखिएको बेथिति र प्रशासनको गैरजिम्मेवारीविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले प्रतिनिधि सभामा आवाज उठाउने सांसद रहबर अन्सारीप्रति ऐक्यबद्धता जनाएका छन्।

गत साता प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अन्सारीले कलेज प्रशासनले विद्यार्थीलाई होस्टेलबाट निकाल्ने, अस्पतालमा काम गर्न नदिने तथा मूल गेटबाटै प्रवेशमा रोक लगाउनेजस्ता गतिविधि गरेको विषय सदनमा उठाएका थिए।

प्रशासनको व्यवहारविरुद्ध विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा छन्। संसदमा समेत विषय उठेपछि आन्दोलनरत विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत सांसद अन्सारीप्रति आभार व्यक्त गर्दै उनको कदमप्रति पूर्ण ऐक्यबद्धता जनाएका छन्।

यसैबीच, विद्यार्थीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न माग गर्दै कलेज प्रशासनसमक्ष लिखित निवेदनसमेत दिएका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।