१९ असाेज, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्पछिको पुनर्निर्माणको मापदण्ड फरक फरक हुनुपर्ने बताउनुभएको छ ।
पूर्वयोजनाकार मञ्चद्धारा आयोजित कार्यक्रममा उहाँले विपद्का प्रकृति फरक हुने भएकाले विपद्पछिको पुनर्निर्माणको परिभाषा र मापदण्ड पनि विपद्अनुसार फरक हुनुपर्ने बताउनुभएको हो । उहाँले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुनःनिर्माणसम्बन्धी काम भइरहेको बताउनु भयो । भूकम्प र बाढीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले एउटै मापदण्डबाट पुनर्निर्माणको काम गर्दा पीडितलाई पर्याप्त राहत नपुग्ने उहाँको भनाई छ । उहाँकाअनुसार हाल विपद्पछि अस्थायी आवास निर्माणको लागी सरकारले दुई किस्तामा ५० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । भूकम्पले घर भत्काउँदा उक्त रकमले अस्थायी आवास निर्माण गर्न सकिने भएपनि बाढीपछि भने नसकिने उहाँको भनाई छ । उहाँले विपद्पछिको पुनर्निर्माणमा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विकास साझेदारको भुमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनु भयो । नेपालको नाममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने भएकाले त्यस्तो सहयोगलाई नेपालका सम्बन्धित संस्थाले समन्वय र सहकार्यका आधारमा परिचालन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले विपद्बाट प्रभावित क्षेत्रमा विकास साझेदार र स्थानीय तहसँगको समन्वयमा पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भोटेकोशी बाढीपछि हामी खोज उद्धारको चरण सकेर खोज र पुनस्थापनामा गईरहेका छौँ, यसका पनि दुई वटा फेस छन् । एउटा अर्ली रिकोभरी र अर्को लङ टर्म रिकोभरी । अहिले हामी अर्ली रिकोभरीमा छौँ, यसको लागी अस्थायी आवासको व्यवस्था गर्नुपर्छ । यसमा सरकारको अहिलेको नियमले २५ हजार एउटा किस्तामा र २५ हजार अर्को किस्तामा ५० हजार रुपैयाँ दिने भन्ने छ । भुकम्पपछि तयार गरिएको मापदण्ड हो, यो । भूकम्पले कुनै घर भत्कायो भने त्यहाँ काठ हुन्छ, दाउरा हुन्छ, घरको कुनै न कुनै भाग बाँकी रहेको हुन्छ, इँटा हुन्छ या केही न केही सामग्री हुन्छ । त्यसलाई प्रयोग गरेर काम गर्न सकिन्छ भन्ने आधारमा भूकम्पपछिको पुनर्निर्माणका लागि ५० हजार रुपैयाँ भनियो । तर बाढीपछिको पुनर्निर्माणमा बाढीले सबै कुरा बगाएको हुन्छ । न त्यहाँ झ्याल हुन्छ, न ढोका हुन्छ, न घरको कुनै भाग नै बाँकी रहन्छ । त्यसपछि त सबै कुरा नयाँ बनाउनुपर्ने हुन्छ । त्यसैले हामीले विपद्लाई पनि एउटै ढाँचाबाट परिभाषित गर्न हुँदैन, यसले कतै पछि पर्छौँ कि भन्ने प्रश्न उठ्छ । त्यसैले कुन विपद्ले कस्तो खालको क्षति ल्यायो, त्यसअनुसार पुनर्निर्माणको परिभाषा पनि छुट्टै हुनुपर्छ । भूकम्पपछिको पुनर्निर्माणको परिभाषा एउटा थियो भने बाढी र यस्तो अन्य विपद्का घटनापछिको पुनर्निर्माणको परिभाषा पनि फरक हुनुपर्छ ।’
उहाँले जलवायु परिवर्तनका कारण विपद्को जोखिम र प्रकृतिमा समेत परिवर्तन भइरहेको बताउनु भयो । उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धि, समुन्द्री सतहको तापक्रममा आएको परिवर्तन तथा मनसुनको स्वरूपमा भइरहेको बदलावले नेपालमा नयाँ खालका विपद् जोखिम सिर्जना गरिरहेको उहाँको भनाइ छ । उच्च हिमाली क्षेत्रमा आएको परिवर्तनले पूर्वाधारमा समेत प्रभाव पार्ने अवस्था देखिएको उहाँले बताउन ुभयो । उहाँले विपद् जोखिम न्युनिकरणका लागि वैज्ञानिक सूचनालाई नीति निर्माणमा समेट्दै संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । विपद् व्यवस्थापनसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरूमा विकास साझेदार र नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल बहुप्रकोपीय जोखिममा रहेको मुलुक भएकाले भौगोलिक क्षेत्रअनुसार विपद्को प्रकृति पनि फरक रहेको उहाँले बताउनु भयो । हिमाली, पहाडी र तराई क्षेत्रमा देखिने विपद्का जोखिम र प्रभाव फरक हुने भएकाले सोहीअनुसार विपद् व्यवस्थापनको रणनीति बनाउनुपर्ने उहाँको धारणा छ । उहाँले विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar