|  

सीईडीबी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने 

१७ वैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज शुक्रवार देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्दैछ । 

कम्पनीले रू २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । 

उक्त आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाइ छ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।