|  

भोटेकोशी-त्रिशूलीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा जोड

१९ असाेज,काठमाडाैं । सरकारले भोटेकोशी-त्रिशूली बाढीपछि जारी खोज तथा उद्धार कार्यलाई अत्यावश्यकबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

अब पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने सरकारको तयारी छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले प्रभावित क्षेत्रका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख रुपैयाँभन्दा बढी बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ। खोज तथा उद्धार स्थगनको निर्णय जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा गरिएको हो।

बैठकले लागत अनुमान नखुलेका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिएको छ। प्रधानमन्त्री शाहले पुनर्निर्माण र पुनर्स्थापनाको काम संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा अघि बढाइने बताए।