२० असाेज, काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि वागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् ।
वागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सिमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताएका हुन् । मंगलवार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै वागमतीमा सरकार गठन गरेपछि संघीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गरे । उनले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको बताए ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको पनि स्पष्ट पारे । आफू तामाङ समुदायमा जन्मिए पनि आफ्नो राजनीतिक दृष्टिकोण जातीय आधारमा नभई समग्र देशको विकास, सुशासन र आर्थिक रूपान्तरणमा केन्द्रित रहेको उनले बताए। देशको आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष घिसिङले मध्यमार्गी राजनीतिक बाटोबाट उज्यालो नेपाल अघि बढ्ने उद्घोष गरे। उनले भने, ‘उज्यालो नेपाल कुनै जाति वा वर्ग विशेषको पार्टी होइन । यो विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो । हामी कुनै वाद–प्रतिवादमा अल्झिनेभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन्छौँ । हाम्रो आर्थिक रूपान्तरणको मुख्य आधार हरित क्रान्ति हो । वागमती प्रदेशबाट शुरु गर्दै देशका सबै क्षेत्रमा सुशासन, विकास र आर्थिक समृद्धिको एजेन्डा लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो। प्रदेशदेखि संघसम्म नेतृत्वदायी भुमिका निर्वाह गर्दै देशलाई आर्थिक रूपमा रूपान्तरण गर्ने हाम्रो संकल्प छ ।’
अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिव ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे । जेन-जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको धारणा थियो । यद्यपि सरकारलाई अहिल्यै नै पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहेको उनले बताए । सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको उनको टिप्पणी थियो । सरकारमा सहभागी युवा वर्गमा केही गर्ने इच्छाशक्ति र उत्साह भए पनि अनुभव, विज्ञता र आवश्यक क्षमताको कमी देखिएको घिसिङले बताए ।उनले भने,‘सरकार गठन भएको ६ महिना भइसकेको छ । यो अवधिमा सरकारले केही क्षेत्रमा काम गर्न खोजेको देखिए पनि जनताले अपेक्षा गरेको गति र परिणाम देखिन सकेको छैन । विशेषगरी रणनीतिक विकास निर्माण र सुशासनका क्षेत्रमा सरकारले स्पष्ट र प्रभावकारी सन्देश दिन सकेको देखिँदैन । केही सकारात्मक प्रयास भए पनि तिनलाई संस्थागत गर्न अझै चुनौती देखिन्छ । म सरकारलाई असफल भयो भन्दिनँ। तर जनताले जुन आशा र विश्वासका साथ सरकार गठन भएको थियो, त्यसअनुसारको परिणाम दिन अब थप गति, स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक छ । युवा नेतृत्वमा उत्साह र केही गरौँ भन्ने इच्छाशक्ति देखिन्छ, तर त्यसलाई अनुभव, विज्ञता र कार्यान्वयन क्षमतासँग जोडेर परिणाममुखी बनाउन आवश्यक छ ।’
अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । उनले रास्वपासँग एकीकरण गर्ने निर्णय नै उज्यालो नेपालका लागि गलत निर्णय भएको निष्कर्षमा पुगेको बताए । एकीकरण प्रक्रियामा अघि बढेपछि आफूहरूले त्यसपछाडि ठूलो षड्यन्त्र रहेको बुझेको उनको दाबी छ । एकीकरण प्रक्रिया टुट्नुको कारणबारे रास्वपा नेतृत्वले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट औपचारिक रूपमा स्पष्ट धारणा सार्वजनिक नगरेको उनले बताए । एकीकरणका क्रममा उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचार समेत गलत रहेको उनको दाबी थियो । शुरुमा सहमति जनाएर पछि एकतर्फी रूपमा सहमति भङ्ग गर्नु राजनीतिक रूपमा गलत भएको भन्दै अध्यक्ष घिसिङले त्यसलाई ‘राजनीतिक अपराध’को संज्ञा दिए । उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग उज्यालो नेपाल पार्टीको एकीकरण प्रक्रियामा हामी अघि बढेका थियौँ । तर सहमति भएको १२ दिनपछि उक्त सहमति एकतर्फी रूपमा भंग गरियो । त्यसपछि उज्यालो नेपालले पद वा अन्य ठूला माग राखेर एकीकरणबाट पछि हटेको भन्ने भाष्य निर्माण गरियो । तर हाम्रो बुझाइमा वास्तविकता त्यस्तो थिएन ।एकीकरणसम्बन्धी सहमति गरेर त्यसलाई कार्यान्वयन नगरी एकतर्फी रूपमा भंग गर्नु राजनीतिक रूपमा गम्भीर विषय हो । त्यसैले हामीले यसलाई राजनीतिक इमानदारी र सहमतिको संस्कृतिसँग जोडिएको विषयका रूपमा लिएका छौँ ।’
अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तिब्रता दिइरहेको जानकारी दिए । उनले स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्यका साथ उज्यालो नेपाल अघि बढिरहेको बताए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar