|  

स्थानीय पहिचान जोगाउने गरी आवास पुननिर्माण गर्छौंः मन्त्री लम्साल

२० असाेज,काठमाडाैं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित क्षेत्रमा स्थानीय पहिचान जोगाउने गरी निजी आवास पुननिर्माण गर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले भूकम्पपछिको पुनर्निर्माणमा जस्तो एकै प्रकारका घर निर्माण नगर्ने बताउनुभएको हो । उहाँले स्थानीय पालिका र सर्वसाधारणसँग सहकार्य गरेर पुनर्निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यस्ता स्थानमा बस्ती बस्न नदिने पनि बताउनु भयो । आवश्यकताअनुसार असुरक्षित क्षेत्र घोषणा गर्ने नीति अघि बढाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘पहिचान जोगिने गरी नै पुनःस्थापना गर्छौँ । घर निर्माणको हकमा भने भूकम्पपछिको पुनर्निर्माणजस्तो हुँदैन । हाम्रो एकतले र दुईतले घरका मोडल छन् । घरमा कम्तीमा दुई बेडरुमसहित चारवटा कोठा हुने गरी निर्माण गरिनेछ । मानिसहरूले स्वीकार नै नगर्ने खालका घर बनाउँदैनौँ । स्थानीय पालिका र स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेरै घरको पुनर्निर्माण गर्छौं ।’

सरकारले प्रभावित क्षेत्रमा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकाको संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिने पनि उहाँले बताउनु भयो । बालबालिकाको शिक्षादेखि रोजगारीसम्मको व्यवस्थापनमा सरकारले सहयोग गर्ने तथा ज्येष्ठ नागरिकको संरक्षणका लागि आवश्यक प्रबन्ध मिलाइएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल