|  

पशुपति मन्दिर प्रवेश गरी भिडियो बनाएको आरोपमा दम्पती पक्राउ

२१ असोज, काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रमा प्रवेश गरी भिडियो बनाएको आरोपमा प्रहरीले इटहरीका ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियारलाई पक्राउ गरेको छ।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई इटहरीबाट नियन्त्रणमा लिई काठमाडौं ल्याएको हो।

अन्सारी र परियारले केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरभित्र पुगेर भिडियो बनाएका थिए। गैरहिन्दूलाई प्रवेश निषेध रहेको पशुपतिनाथको मुख्य मन्दिर क्षेत्रभित्र प्रवेश गरेर भिडियो बनाएको भन्दै सामाजिक सञ्जालमा उनीहरूको विरोध भएको थियो।

भिडियो भाइरल भएर धार्मिक आस्थामाथि आँच पुगेको भन्दै आलोचना बढेपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा उजुरी दिएको थियो।सोही उजुरीका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई पक्राउ गरी काठमाडौं पठाएको हो।