२१ असाेज,काठमाडाैं । सरकारले जथाभावी रुपमा विद्युत खरिद सम्झौता (पीपीए) नगर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जथाभावी रुपमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्दै गए देशको अर्थतन्त्रमा संकट आउन सक्ने भएकाले आवेगमा नगरिने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले उत्पादन हुने विद्युत खपत गर्ने पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भन्दै जथाभावी पीपीए गर्ने सरकारको नीति नरहेको स्पष्ट पारे । विद्युत उत्पादन बढ्दै गएपनि खपत नबढे त्यसको आर्थिक भार निजी प्रवद्र्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्न सक्ने उनको भनाइ छ । जलविद्युत आयोजनामा सर्वसाधारणको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा जनताको लगानीसमेत जोखिममा पर्न सक्ने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठकाअनुसार पीपीएमा कुन आयोजनालाई दिने वा नदिनेभन्दा पनि किन दिने, कसरी दिने र राष्ट्रिय आवश्यकता के हो भन्ने आधारमा प्रणाली विकास गरिएको छ । आवश्यकताका आधारमा पीपीएका लागि सरकारको प्रारम्भिक तयारी पूरा भइसकेको छ भने आरसीओडी (व्यावसायिक विद्युत् उत्पादन शुरु गर्ने मिति) सम्बन्धी निर्णय आगामी साता हुने सम्भावना छ । पीपीएलाई पनि राष्ट्रिय लक्ष्य र प्राथमिकताका आधारमा अघि बढाउने तयारी गरिएको उहाँले बताउनु भयो ।
मन्त्री श्रेष्ठले पीपीए प्रक्रियामा निजी क्षेत्रलाई समेत थप व्यवस्थित रूपमा समेट्ने तयारी भइरहेको बताउनु भयो । यसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत नियमन आयोग र विद्युत विकास विभागसँग आवश्यक छलफल भइरहेको जानकारी दिए । उनकाअनुसार विद्युत क्षेत्रको अर्को महत्वपूर्ण विषय प्रशारण पूर्वाधारमा निजी क्षेत्रको सहभागिता हो । सरकारले यस वर्ष प्रशारण लाइन सुधारका लागि ठूलो बजेट छुट्याए पनि हरेक वर्ष राज्यले मात्रै लगानी गर्नसक्ने अवस्था नरहेकाले प्रशारण क्षेत्रमा निजी लगानी भित्र्याउने प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रशारण लाइन निर्माणमा पीपीपी मोडल शुरु भइसकेको र ‘ह्विलिङ चार्ज’को व्यवस्थाले त्यस्ता आयोजनालाई बैंकयोग्य बनाउन सहयोग गर्ने मन्त्री श्रेष्ठले बताए । ‘बुट’ प्रणालीअन्तर्गत प्रसारण आयोजना २५ वर्षसम्म सञ्चालन हुने व्यवस्था रहने र त्यसबाट निजी क्षेत्र तथा सर्वसाधारणका लागि दीर्घकालीन लगानीको अवसर सिर्जना हुने उनको भनाइ छ । सरकारले अहिले राष्ट्रिय प्रशारण लाइन मास्टर प्लान तयार गरिरहेको पनि उनले बताए । मास्टर प्लानअनुसार प्रशारण आयोजनाका लागि पारदर्शी रूपमा आह्वान गरिने र निजी क्षेत्रले प्रतिष्पर्धात्मक प्रक्रियाबाट सहभागी हुन पाउनेछन् । ह्विलिङ चार्ज निर्धारण भएपछि प्रसारण पूर्वाधारमा लगानीको प्रतिफल र सञ्चालन प्रणालीलाई पनि थप व्यवस्थित बनाउन सकिने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले विद्युत व्यापारलाई पनि निजी तथा सर्वसाधारणको लगानी विस्तार गर्ने अर्को क्षेत्रका रूपमा अघि बढाउने सरकारको तयारी रहेको बताए । विद्युत व्यापारका लागि आवश्यक कानूनी प्रावधान पूरा गरी व्यापार शुरु गर्नसके पीपीएलाई समेत उत्पादन, प्रशारण र खपतबीच सन्तुलन कायम हुने गरी अघि बढाउन सकिने उनले बताए । मन्त्री श्रेष्ठले भने,‘एउटा राम्रो प्रणाली र राम्रो प्रक्षेपण नगरीकन पीपीए मात्र गर्दै जाने हो भने फेरि देश धराशायी हुन्छ । देशको अर्थतन्त्र नै संकटमा पर्छ । यता खपतका पूर्वाधार छैनन्, अनि पीपीए गर्दै जाने, पैसा दिने र राज्यको ढुकुटी सकाउने भन्ने पनि हुँदैन । त्यसका लागि हामीले अलिकति बृहत्तर ढंगले, कुन हाइड्रोलाई दिने वा नदिनेभन्दा पनि एउटा प्रणाली बनाएका छौँ, किन दिने, कसरी दिने भन्ने विषयमा । यसमा कतिपय समस्या छन्, जुन निजी क्षेत्रले पनि उठाउँदै आएको छ । कतिपय स्वतन्त्र ऊर्जा उत्पादकका आफ्नै खालका चुनौतीहरू पनि छन् । यसपालि हामीले वैज्ञानिक आधारमा काम गरिरहेका छौँ । आरसीओडी मेरो विचारमा यही हप्ता हुन्छ होला । पीपीएको पनि हाम्रो प्रारम्भिक तयारी सकिसकेको छ । यसपालि हामीले राष्ट्रिय लक्ष्य र राष्ट्रिय प्राथमिकतालाई केन्द्रमा राखेर त्यसलाई शुरु गर्छौँ । हाम्रो अनुरोध के पनि छ भने अब उत्पादन गर्ने, पीपीए हुने तर खपत नहुने अवस्था आयो भने देशलाई ठूलो घाटा हुन्छ । निजी प्रवद्र्धकलाई पनि घाटा हुन्छ र यो संवेदनशील विषयमा म के निवेदन गर्न चाहन्छु भने जलविद्युत्मा जनताको पैसा पनि परेको हुन्छ । भोलि जलविद्युत आयोजना मात्र डुब्ने होइन, जनताको पैसा पनि डुब्न सक्छ । यसले राष्ट्रको अर्थतन्त्रमा नराम्रोसँग असर गर्छ । त्यसैले हाम्रो अन्तिम चरणको तयारीसम्म पुगिसकेको छ । हामीले प्राधिकरण, विद्युत् नियमन आयोग र डीओईडीसँग पनि यसलाई अब अलिकति सापेक्षताको हिसावले कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छौँ । अलिकति एउटा बाटो के निस्किएको छ भने पीपीएमा निजी क्षेत्रलाई पनि समावेश गर्न खोजेका छौँ । त्यसैकारण यसपालि प्रशारण लाइनमा पनि पीपीपी मोडल शुरु भइसकेको छ । यसले निजी क्षेत्र र आम नागरिकलाई पनि लगानीको दायरा बढाउने तथा सुरक्षित लगानी गर्ने अवसर प्रशारण लाइनमा दिँदैछ । अर्को कुरा विद्युत व्यापारको हो । अहिले जसरी भएपनि यसको प्रारम्भिक प्रणाली बनिसकेको छ । अब यसपालि हामीले त्यसका लागि आवश्यक कानुनी प्रावधानहरू पूरा गरेर विद्युत व्यापार शुरु गर्नसक्यौँ भने त्यसपछि पीपीएलाई पनि सन्तुलित हिसावले, सबै पक्षले जित्ने गरी अघि बढाउन खोजिरहेका छौँ । पीपीएको हकमा मेरो विचारमा अब आरसीओडी यही हप्ता हुनसक्छ । लाइसेन्सिङमा हाम्रो अलिकति समस्या छ । किनभने पहिले जसले आएर आवेदन दिए पनि, चार जना साथी घुम्न गए भने खोल्साको पनि लाइसेन्स दिने खालको अवस्था रहेछ । त्यसले गर्दा पनि नदीहरू धेरै प्याक भएका छन् । कुनै पनि नदी बाँकी नरहेको अवस्था छ । पीपीएको हकमा बोर्ड बैठकमा हामी छलफल गदैछौँ । त्यसका लागि कमिटीहरू पनि छन् । त्यहाँ पनि छलफल भइरहेको छ । यसपालि तपाईंले याद गर्नुभयो भने सरकारले, विशेषगरी हाम्रो मन्त्रालयले, एउटा लक्ष्य प्रशारण लाइन सुधारमा राखेको थियो । त्यसैकारण हाम्रो ठूलो बजेट प्रशारण लाइनमा परेको छ । तर हामीलाई के थाहा छ भने राज्यले हरेक वर्ष यसरी लगानी गर्न सक्दैन । त्यसपछि अब हामी विस्तारै अर्को चरणमा जाँदैछौँ, प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गर्ने । त्यसमा ह्विलिङ चार्जले के गर्ने भयो भने त्यसलाई बैंकयोग्य बनाउने भयो । यो विद्युत उत्पादनको पीपीएजस्तै हो । त्यसले आम नागरिकलाई पनि आफ्नो बच्चाहरूको पढाइ वा अन्य आवश्यकताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्न सुरक्षित लगानी गर्ने क्षेत्रको दायरा बढाउने भयो । यो ‘बुट’ प्रणालीमा हुने भएकाले २५ वर्षको हुने भयो । त्यसैअनुसार अहिले हाम्रो राष्ट्रिय प्रशारण मास्टर प्लान, अर्थात नेसनल ट्रान्समिसन लाइन मास्टर प्लान, बन्दैछ । त्यसअनुसार भयो भने एउटा निष्पक्ष र न्यायोचित तरिकाले आह्वान भइसकेपछि निजी क्षेत्रले पनि त्यसमा सहभागी हुन पाउँछ । चार्जहरू निर्धारण भइसकेको हुँदा त्यसलाई पारदर्शी हिसाबले सञ्चालन गर्न सकिन्छ । साधारण सभा, बैठक वा लाभको बाँडफाँड कसरी गर्ने भन्ने विषय पनि डिजिटल र पारदर्शी हुने भएकाले सुरक्षित लगानीको वातावरण बन्नेछ । पहिले चाहिँ यी सबै कुरा राज्यले नै आफ्नो नियन्त्रणमा राखेको अवस्था थियो । तर अब यसलाई अलिकति खुला गर्दै प्रशारणमा अहिलेको चरणमा र आगामी दिनमा वितरणमा पनि आम नागरिक तथा निजी क्षेत्रलाई कसरी समावेश गर्न सकिन्छ भन्ने हिसाबले हामी हेरिरहेका छौँ । विद्युत व्यापारको विषयमा पनि त्यही सोचका साथ अघि बढिरहेका छौँ । त्यसैले यी तीनवटै क्षेत्रमा-प्रशारण, वितरण र विद्युत व्यापार-आम नागरिकका लागि लगानीको दायरा र क्षेत्र बढाउने दिशामा हामी अगाडि बढेका छौँ ।’
उनले विगतमा आवेदन दिने क्रममै आयोजनाका लाइसेन्स वितरण हुँदा नदी तथा खोलाहरूमा अत्याधिक आयोजना केन्द्रित भएको समस्या रहेको बताए । अहिले धेरै नदी बेसिन ‘प्याक’ भइसकेको अवस्थामा लाइसेन्सिङ प्रणालीलाई समेत पुनर्विचार गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
श्रेष्ठकाअनुसार आगामी दिनमा विद्युत् क्षेत्रलाई उत्पादनमा मात्र सिमित नराखी प्रशारण, वितरण र विद्युत व्यापारसम्म निजी क्षेत्र तथा आम नागरिकको सहभागिता विस्तार गर्ने सरकारको नीति छ । त्यसबाट विद्युत क्षेत्रको लगानीको दायरा बढ्नुका साथै सुरक्षित र दीर्घकालीन लगानीका नयाँ अवसर सिर्जना हुनेछ ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar