|  

केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ

२१ असाेज,काठमाडाैं । नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभएको हो । नेता गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन तरुण पुस्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । नेता गुरुङले १५ औं महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै उहाँले बदलिँदो राजनीतिक परिवेशमा काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न र देशव्यापी रूपमा संगठनलाई सबल बनाउन सक्षम नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभयो । गुरुङले पार्टीका सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नयाँ नेपाल, नयाँ काँग्रेस र नयाँ उत्साहका साथ नेपाली कांग्रेसको ऐतिहासिक १५ औँ महाधिवेशन हुँदैछ । देशलाई नयाँ ढङ्गले अघि बढाउन र तरुणहरूलाई देशव्यापी रूपमा संगठित गर्दै नेपाली काँग्रेसलाई अझ सशक्त बनाउन आजको हाम्रो छलफल महत्वपूर्ण हुनेछ । आगामी महाधिवेशनमा हामी व्यापक छलफल गरेर साझा निर्णयमा पुग्नेछौँ । पार्टी सभापति गगन थापाको नेतृत्वमा हामी सबै एकतावद्ध भएर अघि बढ्नेछौँ । यस १५औँ महाधिवेशनमा मैले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा खुलातर्फ आफ्नो उम्मेदवारी घोषणा गरेको छु । यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु । अब हामी तरुण दलका साथीहरूबीच थप छलफल गरेर सक्षम, योग्य र पार्टीलाई नयाँ दिशा दिन सक्ने उम्मेदवारहरूलाई अघि बढाउनुपर्छ । यसपटक तरुण दल मात्र होइन, सक्षम र ऊर्जावान नेतृत्वलाई प्राथमिकतामा राखेर निर्णय गरौँ ।’

गुरुङले आफू खुलातर्फ केन्द्रिय सदस्यको उम्मेदवार बनेको बताउनु भयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न र योग्य व्यक्तिहरूलाई मूल प्रवाहमा ल्याउन तरुण दलले निर्णायक भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।