|  

क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापतिको व्यवस्था गर्नुपर्छः सभापति अमरसिंह पुन

 

२१ असाेज, काठमाडाैं । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशिल सदस्यहरुले नै पार्टी सभापति प्रत्यक्ष रुपमा छान्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आन्तरिक निर्वाचन प्रणाली परिवर्तन गरी क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारसमेत रहुनुभएका उहाँले पार्टीको वर्तमान विधानले आन्तरिक प्रतिष्पर्धालाई अस्वस्थ बनाएको दाबी गर्नुभयो । वडा तहदेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने प्रणाली आवश्यक रहेको उहाँको भनाई छ । क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति निर्वाचित गर्ने र निर्वाचित सभापतिले समावेशी तथा क्षमताका आधारमा कार्यसमिति निर्माण गर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले १५ औँ महाधिवेशनपछि महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘काँग्रेसको वडा तहदेखि केन्द्र तहसम्म हामी प्रतिस्पर्धा गर्छौँ । हाम्रो विधानको व्यवस्थाले नै हाम्रो पार्टीका साथीहरूसँग एकता गर्न दिँदैन, एकले अर्कासँग मिल्न दिँदैन । त्यसकारण प्रतिस्पर्धा यो गलत छ । हामी ६ हजार ७४३ वडा र विश्व जगतमा रहने जनसम्पर्क समितिका नेपाली काँग्रेसका क्रियाशील सदस्यबाट हामी निर्वाचित प्रत्यक्ष निर्वाचित सभापति बनाउने, सभापतिले आफ्ना कार्यसमितिमा क्यापेबल, समावेशी अथवा भूगोल मिलाएर कार्यसमिति बनाएर देशको नेतृत्व गर्नुपर्छ, पार्टीको नेतृत्व गर्नुपर्छ । यसलाई कार्यान्वयन गर्नलाई पनि मेरो महामन्त्रीको उम्मेदवार हो ।’
काँग्रेसले विगतमा गरेका राजनीतिक परिवर्तन र योगदानलाई वर्तमान पुस्तासँग जोडेर लैजान नसक्दा हाल पार्टीभित्र राजनीतिक उतारचढाव आएको उहाँको भनाई छ । वीपी कोईरालादेखि सुशील कोईराला र शेरबहादुर देउवासम्म काँग्रेसले मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरेपनि त्यसको इतिहास नयाँ पुस्तालाई प्रभावकारी रूपमा बुझाउन नसकिएको उहाँले बताउनु भयो ।

पार्टीको नेतृत्वमा पुरानो पुस्तालाई विस्थापित गर्ने नभई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिले परिस्थिति यस्तो छ, राजनीति रूपमा काँग्रेसले यो इतिहासमा काँग्रेसले धेरै कुरा गरेको छ, वीपी कोईरालादेखि सुशील कोईराला अथवा शेरबहादुर देउवासम्म आउँदै गर्दा हामीले महत्त्वपूर्ण परिवर्तनको नेतृत्व गरेको कुरालाई युवापुस्तामा राम्रोसँग बुझाउन सकेनौ । इतिहास हामीले राम्रोसँग बुझाउन सकेनौँ । वर्तमानसँग त्यो इतिहासलाई जोड्न नसकेको कारणले गर्दा काँग्रेस भित्र केही राजनीति रूपमा उतारचढाव भएकै हो । हामीले युवाहरूदेखि सबैलाई जोड्ने, पुराना पुस्तालाई मात्रै पुराना पुस्तालाई बाइपास होइन कि पुराना पुस्तालाई पनि युवाहरूसँग जोड्ने गरी युवा अहिलेका विचारसँग जोड्ने गरी हामी सबै कुरा मिलाएर लैजानुपर्छ ।’

पार्टीभित्रको समावेशी प्रतिनिधित्वलाई थप बलियो बनाउने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो । काँग्रेसमा विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व भएपनि मगर समुदायबाट पार्टीको उच्च नेतृत्वमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल