|  

महिला उद्यमीलाई दुई लाखसम्म, समूहलाई तीन लाखसम्म प्रविधि सहयोग

२१ असाेज,काठमाडाैं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले महिला उद्यमीलाई प्रविधि सहयोग उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

नयाँ कार्यविधिअनुसार छनोट भएका एकल महिला उद्यमीलाई दुई लाख रुपैयाँसम्म र महिला उद्यमी समूहलाई तीन लाख रुपैयाँसम्म मेसिन, औजार तथा उपकरणका लागि सहयोग दिइनेछ। यसबाट उद्यमको स्तरोन्नति, उत्पादन तथा उत्पादकत्व वृद्धि र महिलालाई स्वरोजगारतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ। कार्यक्रम प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुनेछ। स्थानीय तहले सम्भावनायुक्त महिला उद्यमी तथा समूह छनोट गरी प्रदेशमा सिफारिस गर्नेछन्। स्थानीय कच्चा पदार्थ, कृषि, पशुपालन, हस्तकला, पर्यटन तथा सेवा क्षेत्रमा आधारित उद्यमलाई प्राथमिकता दिइनेछ।

कार्यविधिले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका हरुवा, चरुवा, कमलहरी, चमार, डोम, चेपाङ र वादी समुदायका महिला उद्यमीलाई समेत प्राथमिकता दिने व्यवस्था गरेको छ।