|  

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

२१ असाेज, काठमाडाैं । माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ यस वर्ष प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ।

बक्स अफिस स्रोतका अनुसार फिल्मले मंगलबार बेलुकासम्म ९ करोड ३५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। योसँगै ‘पेन्सन पट्टा’ले ९ करोड ३२ लाख कमाएको ‘लालीबजार’लाई पछि पारेको हो। यस वर्ष सबैभन्दा धेरै कमाउने नेपाली फिल्म भने ‘गौंथली’ रहेको छ। ‘गौंथली’ले २६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांक छ।

‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, पशुपति राई, बुद्धि तामाङ र विश्वास गुरुङलगायतको अभिनय छ। पेन्सन जीवन, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थमा आधारित फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आएको हो।