|  

पार्टीको संगठनलाई वडा तहबाटै सुदृढ बनाउनुपर्छः उपसभापतिका उम्मेदवार गिरी

२२ असाेज, काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीले पार्टीको संगठनलाई वडा तहबाटै सुदृढ, अनुशासित र जनताप्रति थप जवाफदेही बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । 
बिहीवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पदका उम्मेदवार समेत रहेकाे गिरीले यस्तो बताएका हुन् । पार्टीभित्रको सांगठनिक संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताए । उनले वर्तमान मुलुकका मुख्य चुनौतीहरू राष्ट्रियताको रक्षा, विकासको गतिलाई तिब्रता दिने र युवा पलायन रोक्ने विषयमा आफू केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरे । पपुलिजम र नेतृत्वको विषयमा प्रश्न गर्दा गिरीले लोकतान्त्रिक अभ्यासमा जनताको प्रिय र सक्षम व्यक्ति नै नेतृत्वका लागि योग्य हुने बताए । उनले भने,‘पार्टीको जरो भनेको वडा हो । वडा तहदेखि नै संगठनलाई चुस्त दुरुस्त बनाउनु र प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता हो । अघिल्लो पुस्ताका सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउनु नै अहिलेको रूपान्तरण हो ।’

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले शहीदहरूको बलिदानी र काँग्रेसको आदर्शलाई शीरमा राखेर सक्षम नेतृत्व चयन गर्न आह्वान गरेका छन् । –न्युज एजेन्सी नेपाल