|  

काँग्रेसमा युवा र महिलाको आवाज बुलन्द गर्न मेरो उम्मेदवारीः बासना थापा

२२ असाेज, काठमाडाैं । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली र मधेसका पछाडि पारिएका वर्ग तथा युवा र महिलाको आवाजलाई पार्टीको नीति निर्माण तहमा पु¥याउने आफ्नो मुख्य ध्येय रहेको बताएकी छन ।

बिहीवार पार्टीको १५ औं महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । खुला महिलातर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएकी उहाँले पार्टीभित्र देखिएका सांगठनिक चुनौतीहरूलाई चिर्दै काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने दाबी गरिन् । उनले पार्टीभित्र युवाहरूको सहभागिता उल्लेख्य रूपमा बढेको र उनीहरूलाई पार्टीको पद्धति र परम्परागत अनुभवसँग जोडेर अगाडि लैजानु अहिलेको मुख्य चुनौती रहेको बताए । पछिल्ला निर्वाचनहरूमा पार्टीले भोगेको पराजयलाई ‘सत्तामुखी चरित्र’ भन्दा पनि मतदाताको ’नयाँ परीक्षण’को चाहनाका रूपमा बुझ्नुपर्ने थापाको तर्क छ । गगन थापाको नेतृत्वमा युवाहरूको क्रेज बढेको बताउँदै उनले महाधिवेशन प्रतिनिधिहरूलाई सक्षम र भिजन भएको नेतृत्व छनोट गर्न आह्वान गरिन्।

साथै, आन्तरिक चुनावमा हुने प्रतिष्पर्धाले संगठनलाई कमजोर नभई थप मजबुत बनाउनेमा उनले जोड दिइन् । उनले भनिन्, ‘हामीले जनादेश गुमाएका हौँ, तर हिम्मत होइन । अब पार्टीलाई थप जनमुखी बनाएर आम जनता र युवाहरूको आकर्षण पुनः कायम गर्नुपर्ने आवश्यकता छ । यो हाम्रो आन्तरिक प्रक्रिया हो, यहाँ कोही हार्दैन, संगठन मात्र जित्छ ।’

पार्टीका अग्रजहरूको अनुभव र युवाहरूको उत्साहलाई समिश्रण गरी आगामी दिनमा काँग्रेसलाई एकढिक्का बनाउँदै लैजाने आफ्नो प्रतिवद्धता रहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल