२३ असाेज, काठमाडाैं । बिहान झिसमिसेदेखि नै गोंगबु बसपार्कमा सुदूरपश्चिम र कर्णालीका लामो दूरीका टिकट काट्न सयौँ यात्रु लामवद्ध थिए ।
भीड व्यवस्थापन गर्न नागरिक सहायता कक्ष खटिए पनि झ्यालहरूमा टाँसिएको ‘नो अनलाइन, वान्ली क्यास’ को सूचनाले प्रविधिको युगमा यात्रुलाई पकेटमारी र नगद बोक्ने अतिरिक्त जोखिम थोपरेको छ । गोंगबुस्थित नयाँ बसपार्कमा पहिलो दिनको पहिलो दृश्य नै उत्साह र अनिश्चितताको समिश्रण थियो । राजधानीमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, निजी तथा सरकारी जागिरे र दैनिक ज्यालादारी गर्ने सर्वसाधारण बिहानको चिसो नभनी लाममा उभिएका थिए । रातो इँटाको पर्खालमा टाँसिएको ब्यानरमा विचिन्न स्थानको भाडादर तोकिएको छ । यद्यपि सूचनाको सबैभन्दा तल लेखिएको एउटा सानो वाक्यांशले यात्रुलाई झस्काउँछ-‘नगदमा कारोबार गरिदिनुहोला ।’
वर्षभरिको परदेशको पसिना र व्यस्तता बिर्सेर गाउँ फर्किने उमंग त छ, तर लाइनमा ४ घण्टा उभिँदासम्म आफूले चाहेको दिनको सिट पाइन्छ कि पाइँदैन भन्ने ढुकढुकी प्रत्येक यात्रुको अनुहारमा प्रस्ट पढ्न सकिन्छ । बसपार्कको मुख्य टिकेटिङ हलमा पस्नेबित्तिकै रातो डिजिटल एलईडी बोर्डले यात्रुको ध्यान खिच्छ । त्यहाँ पोखरा, बागलुङ, बुर्तिबाङ, रुकुम, बेनी, दरबाङ, फलेबास, मुक्तिनाथ, नेपालगञ्ज, राजापुर, धनगढी, बझाङ र बाजुरा लगायतका दर्जनौँ गन्तव्यहरू निरन्तर स्क्रोल भइरहेका छन् । स्टीलको मजबुत ब्यारिकेडभित्र यात्रुहरू धैर्यतापूर्वक अघि बढिरहेका छन् । हलभित्रको यो व्यवस्थापनले बाहिरको जस्तो अस्तव्यस्ततालाई केही हदसम्म कम गरेको छ । काउन्टरका कर्मचारीहरू डेस्कटप मनिटरमा हेर्दै सिट खाली भए-नभएको जानकारी दिइरहेका छन् ।
सुदूरपश्चिम जाने यात्रुका लागि हवाई भाडा आकासिएको छ भने कर्णाली करिडोर र सुदूरपश्चिमका राजमार्गहरूको अनिश्चित अवस्थाले गर्दा भरपर्दो मानिएका एसी र डिलक्स गाडीहरूका सिट पहिलो दिननै धेरै टिकट काटिसकिएको छ । आज नेपालमा साना चिया पसल, तरकारी पसलदेखि सपिङ मलसम्म क्युआर कोडबाटै कारोबार हुन्छ । तर राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय स्तरको भनिएको नयाँ बसपार्कमा एउटा टिकटको ३ देखि ५ हजार रुपैयाँ नगदै बुझाउनुपर्ने व्यवस्था किन ?
यात्रुहरूले गोजीमा मोटो रकम बोकेर हिँड्नुपर्दा पकेटमारहरूको जोखिम बढ्छ । अर्कोतर्फ, नगद कारोबारले राजश्व र लेखा प्रणालीलाई पारदर्शी नबनाउने पुरानै सिन्डिकेट सोचलाई मलजल गरिरहेको देखिन्छ । यद्यपि पछाडि सुरक्षाकर्मीको उपस्थिति देखिएकाले सुरक्षाको वातावरण भने बनाइएको छ । विद्यार्थीकाअनुसार कलेज र जागिरबाट फूलपाती (असोज २४) वा महाअष्टमीको अघिल्लो दिन मात्रै बिदा पाइन्छ । त्यसैले ती २-३ दिनका सिटहरू बुकिङ खुलेको केही मिनेटमै सकिने भय छ । लाइनमा साथीहरूसँग फोनमा गफिँदै वा पालो कहिले आउला भनी घडी हेर्दै उभिएका यी अनुहारहरूले देखाउँछन्ः नेपालमा चाडपर्व भनेको परिवारसँगको पुनर्मिलनको सुखद् पर्व मात्र होइन, घर पुग्न गरिने एउटा कडा परीक्षा पनि हो । ब्यानरमा तीन महत्वपूर्ण शर्तहरू प्रस्ट लेखिएका छन्ः पहिलो, टिकट लिएपछि जाने ठाउँ, मिति र समय राम्ररी जाँच्नुपर्ने । दोस्रो, बस नम्बर थाहा पाउन बस छुट्ने दिनको आधा घण्टा अघि मात्र काउन्टर २२-२३ मा सम्पर्क गर्नुपर्ने । र तेस्रो, सबै यात्रु अनिवार्य बसपार्कबाट मात्र चढ्नुपर्ने ।
कलङ्की वा कोटेश्वरबाट बाटोमा गाडी कुर्ने पुरानो बानीले ट्राफिक जाम र सिट गडबडी हुने भएकाले बसपार्कलाई नै एकमात्र प्रस्थान बिन्दु बनाउन खोजिएको यो सकारात्मक प्रयास हो । तर बस नम्बर आधा घण्टा अगाडि मात्र दिने व्यवस्थाले यात्रुहरूमा अन्तिम क्षणसम्म अन्योल रहने समस्या भने यथावत छ । कर्मचारीहरूकाअनुसार शुक्रवारबाट शुरु भएको यो चटारो दशैँसम्म चल्छ । सिमित बस र सिट संख्या भएकाले यात्रुको रोजाइको अघिल्लो सिट मिलाउनु र प्रणालीमा दोहोरो बुकिङ हुन नदिनु उनीहरूका लागि चुनौतीपूर्ण कार्य हो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar