२३ असाेज,काठमाडाैं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोईरालाले बाढी प्रभावित क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि ‘प्रो–एक्टिभ पुलिसिङ’ (सक्रिय प्रहरी परिचालन) शुरु गरिएको बताउनुभएको छ ।
हाल होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूको सुरक्षा र मनोसामाजिक स्वास्थ्यमा विशेष ध्यान दिँदै उहाँले भविष्यमा बाढीको जोखिम न्युनिकरणका लागि भू–उपयोग नीतिअनुसार बस्ती र सरकारी संरचनाको पुनःस्थापना गर्नुपर्नेमा जोड दिनुभएको हो । डीआईजी कोईरालाकाअनुसार हाल होल्डिङ सेन्टरहरूमा बस्ने नागरिकहरूको संख्या क्रमशः घट्दो क्रममा रहे पनि त्यहाँ हुन सक्ने सम्भावित अपराध नियन्त्रणका लागि सुरक्षाकर्मीहरू सक्रिय छन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षाका लागि महिला प्रहरीको टोली नै खटाइएको उहाँले जानकारी दिनुभयो । प्रभावितहरूका लागि मनोसामाजिक परामर्श सेवा अनिवार्य रहेको बताउँदै उहाँले विगतका अनुभवहरूबाट सिकेर थप प्रभावकारी सेवा प्रवाहमा प्रहरी जुटेको स्पष्ट पार्नुभयो ।
रसुवा बाढीबाट भएको क्षतिबारे चर्चा गर्दै उहाँले प्रहरीका ६ वटा भवनहरूमा पूर्ण रूपमा क्षति पुगेको उल्लेख गर्नुभयो । दीर्घकालीन समाधानका लागि उहाँले सरकारलाई ‘भू–उपयोग नीति’ कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो । जोखिमयुक्त नदी किनार वा बाढीको उच्च सम्भावना भएका स्थानमा बस्ती बसाल्ने कार्य निरुत्साहित गर्दै वैज्ञानिक तवरले जग्गा वर्गीकरण गरी सुरक्षित स्थानमा मात्रै पुनःस्थापना र पुनःनिर्माणको काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘होल्डिङ सेन्टरमा अहिले करिब एक हजार व्यक्ति रहेका छन् र संख्या क्रमशः घट्दै गएको छ । त्यहाँ हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सक्रिय प्रहरी परिचालन गरिएको छ । महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको सुरक्षाका लागि महिला प्रहरीसमेत खटाइएको छ । साथै, प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन आवश्यक छ । दीर्घकालीन पुनस्र्थापनाका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ। बाढीको जोखिम क्षेत्रभन्दा माथि सुरक्षित स्थानमा बस्ती बसाल्ने तथा सरकारी कार्यालय र भवनहरू पनि जोखिम क्षेत्रबाट टाढा निर्माण गर्ने व्यवस्था गर्नुपर्छ । यसपटक बाढीमा तीनवटा भवन पूर्ण रूपमा क्षति भएका छन् । त्यसैले भू–उपयोग नीतिअनुसार सरकारी भवन तथा निजी आवासको वर्गीकरण गरी सुरक्षित स्थानमा निर्माण गर्ने व्यवस्था गर्न आवश्यक छ । पुनस्र्थापना र पुनर्निर्माणका कामलाई अल्पकालीन तथा दीर्घकालीन योजनाअनुसार व्यवस्थित रूपमा अघि बढाउन आग्रह गर्दछु ।’
छोटो र लामो अवधिका योजनामार्फत प्रभावितहरूको जीवनस्तर सुधार र सुरक्षित बसोबास सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar