|  

नेकपाले अगामी कात्तिक ७ देखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ चलाउने

२३ असाेज, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रिय संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँकाअनुसार अगामी  कात्तिक ७ गते बृहत पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले अभियानको उद्घाटन गर्नेछ । ‘राष्ट्रिय जागरण अभियान’को कार्यविधि समेत बैठकले पारित गरेको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको महाधिवेशनको तयारी, सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणका काम अघि बढाइने बताउनु भयो । त्यसैगरी, स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि अभियानकै क्रममा गरिने जानकारी दिनुभयो । उहाँले यही अभियानमार्फत सरकारका जनविरोधी क्रियाकलाप र अराजकताविरुद्ध आन्दोलनका कार्यक्रम समेत गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आजको बैठकले अबको दुई महिना राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अगामी कात्तिक ७ गते बृहत पत्रकार सम्मेलन गरेर हामी राष्ट्रिय जागरण अभियानकामे उद्घाटन गर्नेछौँ । र मंसिर २५ गतेसम्म यो अभियान सञ्चालन हुनेछ । यो राष्ट्रिय जागरण अभियानको कार्यविधि समेत आजको बैठकले पारित गरेको छ । राष्ट्रिय जागरण अभियानको मुख्य महत्व एवं उद्देश्य भनेको  यस अभियानमार्फत पार्टीको महाधिवेशनको तयारी पनि गर्छौँ । सदस्यता नवीकरण, संगठन सुदृढिकरण, भेला र बैठकहरुमार्फत महाधिवेशनको तयारी अगाडि बढाउँछौँ । दोस्रो, स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियानमार्फत हामी अगाडि बढाउँछौँ । र तेस्रो, सरकारले गरेको जनविरोधी क्रियाकलापका विरुद्धमा, अरजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ । हामी यही अभियानमार्फत सरकारका विरुद्ध संघर्षको तयारी पनि गर्छौँ ।’

बैठकले ग्रे जोन पत्रिकाको आर्टिकलबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसहित विशेष प्रश्ताव समेत पारित गरेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल