|  

पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कबाट निस्केनन् यात्रुवाहक बस

२४ असोज, काठमाडौं ।  पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्।

राजमार्ग बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कान्ति लोकपथमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालन प्रभावित भएको हो।

सवारीसाधन रोकिँदा दसैँ मनाउन घर फर्किन लागेका यात्रुहरू मर्कामा परेका छन् । अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन् ।

सडक मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म समस्या कायमै रहने देखिएको छ । यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।