२४ असाेज, काठमाडाैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबीच कुनै असमझदारी नरहेको प्रष्ट पार्नुभएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी कमिटी बैठक समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आन्तरिक विवादबारे बाहिर आएका टीकाटिप्पणीहरू ‘प्रायोजित’ भएको दाबी गर्नुभयो । उहाँले पार्टी नेतृत्व पूर्ण संवाद र समझदारीका साथ अघि बढिरहेको बताउनु भयो । शिर्ष नेताहरू र पदाधिकारीहरू निरन्तर संवादमै रहेको उल्लेख गर्दै उहाँले कुनैपनि विषयमा बुझाइको भिन्नता भए छलफलकै माध्यमबाट एकरूपता ल्याइने स्पष्ट पार्नुभयो ।
नेता विश्वकर्माकाअनुसार तीन दिनसम्म सञ्चालन भएको स्थायी कमिटीको बैठकले विधानले तोकेको सीमाभित्र रहेर केन्द्रिय कमिटीमा १२ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । जसमा समावेशी सन्तुलन कायम गर्दै ६ जना महिला र ६ जना पुरुष नेताहरूलाई केन्द्रिय सदस्य बनाइएको छ । त्यसैगरी अन्य दल परित्याग गरी नेकपा (एमाले) मा समाहित भएका नेता धर्मनाथप्रसाद साहलाई पनि केन्द्रिय कमिटीमा जोड्ने औपचारिक निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी कार्ययोजनामाथि गहन विमर्श भएको छ । नेता विश्वकर्माले वडा अधिवेशन, पालिका अधिवेशन तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने पूर्वतयारीका कार्यसूचीहरूमाथि सौहार्दपूर्ण छलफल गरी आवश्यक निष्कर्ष निकालिएको बताउनु भयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत गरिएका सांगठनिक प्रस्तावहरूमाथि विमर्श गरी सर्वसम्मतिले निर्णय लिइएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । आजको बैठकबाट केन्द्रिय कमिटीमा मनोनयन गर्नुपर्ने ६ जना महिला र ६ जना पुरुष गरी १२ जना सदस्यको मनोनयन सर्वसम्मतिले निर्णय गरेका छौँ । उहाँहरूको नाम प्रवक्ताले सार्वजनिक गरिसक्नुभएको छ । अर्को पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नुभएका धर्मनाथप्रसाद साह पनि केन्द्रिय कमिटीको बैठकमा जोडिनुभएको छ । बैठकमा वडा अधिवेशन, राष्ट्रिय कार्यकर्ता भेला र पालिका अधिवेशनलगायतका विषयमा छलफल भएको छ । बाँकी विषयमा छलफल गर्न पार्टी अध्यक्षले उपयुक्त समयमा पुनः बैठक बोलाउनुहुनेछ । हामी समझदारी र सर्वसम्मतिका आधारमा निर्णय गर्दै अघि बढ्नेछौँ । पदाधिकारी र स्थायी कमिटीका नेताहरू विभिन्न विषयमा निरन्तर सम्पर्क र संवादमा हुनुहुन्छ। नेतृत्वबीच छलफल र विमर्शबाटै निर्णयहरू अघि बढ्ने हुन् । कतै बुझाइमा एकरूपता नभए पनि संवादबाटै त्यसलाई स्पष्ट पार्न सकिन्छ । त्यसैले नेकपा एमालेको नेतृत्वबीच मतभेद रहेको भन्ने भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु । यस्ता विषयलाई प्रायोजित रूपमा अघि सारिएको हो कि भन्ने मेरो बुझाइ छ ।’
स्थायी कमिटीको जारी बैठक तत्कालका लागि सम्पन्न भएपनि पार्टीको आवश्यकता र उपयुक्त समय हेरेर अध्यक्षले छिट्टै अर्को बैठक आह्वान गर्ने विश्वकर्माले बताउनु भयो । सोही बैठकबाट बाँकी रहेका सांगठनिक कार्यसूची तथा जिम्मेवारी बाँडफाँटका विषयहरूलाई टुंगो लगाइने उहाँले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar