|  

रुसको यान्डेक्स डेटा सेन्टरमा युक्रेनले गर्‍यो ड्रोन आक्रमण

२५ असोज, काठमाडौं ।  युक्रेनले रुसको प्रविधि कम्पनी यान्डेक्सद्वारा सञ्चालित प्रमुख डेटा सेन्टरमा शुक्रबार ड्रोन आक्रमण गरी त्यसको केही भाग निष्क्रिय बनाएको छ ।

रुसले युक्रेनका डेटा सेन्टरमा आक्रमण गरेको भन्दै त्यसको प्रतिकारमा युक्रेनले रुसभित्रका डिजिटल पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको हो । रुसको ‘गुगल’ भनेर समेत चिनिने यान्डेक्सले मस्कोको दक्षिणपश्चिममा रहेको कालुगा क्षेत्रमा आफ्नो डेटा सेन्टर युक्रेनी ड्रोनको आक्रमणमा परेको र आंशिक रूपमा सञ्चालनबाहिर गएको जनाएको छ ।

युक्रेनी हतियार निर्माता फायरपोइन्टले भने यान्डेक्सको सबैभन्दा ठूलो डेटा सेन्टरलाई निशाना बनाउन एफपी–१ एकतर्फी आक्रमणकारी ड्रोन प्रयोग गरिएको र त्यसका केही मोड्युल पूर्ण रूपमा निष्क्रिय भएको दाबी गरेको छ ।

यसअघि बिहीबार पनि युक्रेनी आक्रमणमा मस्कोको दक्षिणपूर्वमा रहेको यान्डेक्सको सासोभो डेटा हब बन्द भएको थियो । उक्त डेटा हबमा कम्पनीको एआई मोडल विकासका लागि प्रयोग हुने तीनमध्ये दुई सुपर कम्प्युटर रहेको बताइएको छ ।