|  

कृपया धैर्य रहनुहोला र सुरक्षित रहनुहुनेछः गृहमन्त्री गुरुङ

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा बाढीले न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगाएको छ ।

घट्टेखोलामा केही घरमा लेदोसहितको पानी पसेको र बूढीगण्डकीको बहाव बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

गृहमन्त्री सुदन गुरुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताएका छन् ।

उद्धार तथा राहतका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेको उनले जानकारी दिएका छन् । उनले सिर्दिबास, जगत, सल्लेरी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

‘कृपया धैर्य रहनुहोला र सुरक्षित रहनुहुनेछ,’उनले भने । उनले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।