|  

मनास्लु क्षेत्रमा हिमपहिरो खस्दा गोरखामा ठूलो बाढी आएको अनुमान

२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढी मनास्लु हिमाल क्षेत्रमा हिमपहिरो खसेका कारण उत्पन्न भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीयले हिमपहिरोपछि बाढी आएको सूचना दिए पनि यसको पुष्टि भइसकेको छैन।

चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङको उत्तरी क्षेत्रबाट आएको बाढीले सिर्दिबास, जगत, यारु, तातोपानी, माथिखोला, सोती, आरुखेत हुँदै आरुघाटसम्म क्षति पुर्‍याएको छ। बाढीले आरुघाटको पुल तथा जलविद्युत् आयोजनाका संरचनासमेत बगाएको जनाइएको छ।

प्राधिकरणका अनुसार हिमपहिरो खसेर खोला थुनिने र पुनः फुटेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकीमा पानीको सतह खतरा तहभन्दा माथि रहेको जनाउँदै त्रिशूली नदीको बेनीघाट क्षेत्रमा अति उच्च जोखिम र मुग्लिन क्षेत्रमा उच्च जोखिम रहेको चेतावनी दिएको छ। चितवन र नवलपरासीलगायत नदी आसपासका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।