२५ असाेज,काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताए । उनकाअनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीलाई समेत थप दिगो बनाउने काम अघि बढाइएको छ । मन्त्री श्रेष्ठले प्रशान्त महासागरमा विकसित भइरहेको ‘सुपर एल निनो’ को सम्भावित प्रभावबारे पनि मन्त्रालयले जिम्मेवारी सम्हालेको शुरुवाती चरणमै अध्ययन गरी त्यसको प्रभावबारे व्याख्या गरिएको बताए ।जलवायु परिवर्तनसँगै वर्षाको स्वरूपमा समेत परिवर्तन देखिन थालेकाले पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन आवश्यक रहेको बताउँदै विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताए । उनकाअनुसार पूर्वसूचनासँगै स्थानीय तहसम्म जनचेतना अभिवृद्धि, विपद् पूर्वाअभ्यास र सूचना प्राप्त भएपछि अपनाउनुपर्ने प्रक्रियासमेत स्पष्ट हुन आवश्यक छ ।
मन्त्री श्रेष्ठले पछिल्ला बाढी तथा पहिरोका घटनामा नदीको जलस्तर मापन र निगरानीका लागि राखिएका केही उपकरणसमेत बगेकाले आगामी दिनमा थप दिगो प्रविधि प्रयोग गर्नुपर्ने बताए । रसुवा बाढीमा टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा राखिएका संरचना बगाएको उल्लेख गर्दै उनले जोखिमयुक्त स्थानमा उपकरण जडान गर्दा त्यसको दिगोपनालाई समेत ध्यान दिनुपर्ने बताए । यद्यपि, केही तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीले प्रभावकारी रूपमा काम गरेको उनले बताए । मजुवा बस्ती, भरतपुर र सुस्तालगायतका क्षेत्रमा पूर्वसूचनाले सम्भावित जोखिमबारे समयमै जानकारी गराउन सहयोग पुगेको उनको भनाइ छ ।
श्रेष्ठकाअनुसार जापानमा भूकम्पलगायत विपद्का लागि नियमित पूर्वअभ्यास गरिएझैं नेपालमा पनि स्थानीय तहसम्म विपद् पूर्वअभ्यासको संस्कार विकास गर्नुपछ । २०७२ सालको भूकम्प, मेलम्चीलगायतका बाढी तथा पछिल्ला वर्षहरूमा देखिएका असामान्य वर्षाका घटनाले विपद्पूर्व तयारीलाई नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्ने देखाएको उनले बताए । उनले भने,‘हाम्रो मन्त्रालयमा जल तथा मौसम पूर्वानुमानको जिम्मेवारी हुँदा हामीलाई सुरुमै के थाहा थियो भने हाम्रो पूर्वानुमान प्रविधि तीन दिन अगाडिसम्मको मात्रै थियो । यसपटक भने हामीले सात दिन अगाडिसम्मको पूर्वानुमान गर्नसक्ने प्रणाली विकास गरेका छौँ । हामीले जिम्मेवारी सम्हालेकै बेला प्रशान्त महासागरमा ‘सुपर एल निनो’ भन्ने अर्को एउटा प्रकोप विकसित हुँदै थियो । त्यसका सम्भावित प्रभावहरू के हुन्छन् भन्ने विषयमा जिम्मेवारी सम्हालेको १५ दिनभित्रै हामीले व्याख्या गरिसकेका थियौँ । अर्को, प्रविधिको कुरा गर्दा अब हामीले मौसम पूर्वानुमानसँगसँगै नदीहरूको सतह पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । अघिल्लो पटकको बाढीले हाम्रो नदी सतह अनुगमन गर्ने प्रविधि नै बगाएर लग्यो । त्यसपछि अब कुन–कुन ठाउँमा कस्तो प्रविधि राख्ने र त्यसलाई कसरी अझ दिगो बनाउने भन्ने विषयमा पनि सोच्नुपर्ने भएको छ । टिमुरेको प्रविधि बगायो, अर्को ठाउँको बगायो, बेत्रावतीको पनि बगायो । तर यति हुँदाहुँदै पनि तल्लो तटीय क्षेत्रमा पूर्वसूचनाले केही हदसम्म काम गरेको थियो । मजुवा बस्ती र भरतपुरमा बाढी पस्न खोजेको थियो भने सुस्तामा पनि केही समस्या देखिएको थियो । त्यसैले मलाई लाग्छ, प्रणालीको विकाससँगसँगै जनचेतना अभिवृद्धि र विपद्को पूर्वअभ्यास गर्ने अभ्यास पनि हामीले विकास गर्नुपर्छ ।’
उनकाअनुसार पूर्वसूचना प्रणाली, जनचेतना, पूर्वअभ्यास र स्थानीय तहबीचको समन्वयलाई एकीकृत रूपमा अघि बढाउनसके विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्युनिकरण गर्न सकिन्छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar