|  

जिबुटी तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित १३९ आप्रवासीको मृ#त्यु, दर्जनौँ बेपत्ता

२६ असोज, काठमाडौं ।  जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ ।

दर्जनौँ मानिस अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएम ले जनाएको छ ।आईओएमका अनुसार जिबुटीबाट ३०५ जना यात्रु बोकेर यमनतर्फ जाँदै गरेको डुङ्गा बिहीबार राति ओबोक बन्दरगाह नजिकै पल्टिएको थियो । दुर्घटनामा परेका करिब ८२ जनाको जीवितै उद्धार गरिएको छ ।

सङ्गठनले सुरुमा १०९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । पछि थप ३० वटा शव फेला परेपछि मृतकको सङ्ख्या १३९ पुगेको हो । स्थानीय अधिकारीहरूले मृतकको अन्त्येष्टिको व्यवस्था गरिरहेका छन् भने उद्धार गरिएका सबै जीवित व्यक्ति इथियोपियाका नागरिक रहेको बताइएको छ । उनीहरूलाई आवश्यक चिकित्सा सेवा उपलब्ध गराइएको छ ।

रोजगारी र सुरक्षित जीवनको खोजीमा हरेक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासी जोखिमपूर्ण समुद्री यात्रा गर्दै यमन पुग्ने प्रयास गर्छन् । यमनमा लामो समयदेखि जारी गृहयुद्ध, गरिबी, असुरक्षा र जलवायु परिवर्तनको प्रभावका बाबजुद पनि आप्रवासीहरूको यस्तो यात्रा जारी छ ।

बाब एल–मान्डेब जलडमरूमध्य हुँदै गरिने यस यात्रामा डुङ्गा दुर्घटना र मानवीय क्षतिको जोखिम उच्च रहने गरेको छ ।