|  

साउदीको  रियाद विमानस्थलमा लगातार दोस्रो दिन आक्रमणः एक जनाको मृ#त्यु, ११ घाइते

२६ असोज, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

साउदी नेतृत्वको गठबन्धन सेनाका अनुसार आइतबार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–४ लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको थियो । आक्रमणपछि विमानस्थलमा आगलागी भएको बताइएको छ ।

यसअघि शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको थियो ।

गठबन्धन सेनाका अनुसार साउदी हवाई रक्षा प्रणालीले विमानस्थल आसपासमा एउटा क्रुज मिसाइललाई आकाशमै नष्ट गरेको छ । त्यसैगरी पूर्वी प्रान्तमा एउटा ड्रोन र खमिस मुसाइततर्फ प्रहार गरिएको बलिस्टिक मिसाइलसमेत निष्क्रिय पारिएको जनाइएको छ ।

सोमबार बिहान दक्षिणी सहर आभामा आपत्कालीन चेतावनी जारी गरिएको थियो । पछि अवस्था सामान्य बनेको साउदी नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।

लगातार भइरहेका आक्रमणले साउदी अरबको सुरक्षा अवस्था र नागरिकको जनजीवनमा चिन्ता बढाएको छ ।