|  

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, २ भारतीय बेपत्ता

२६ असोज, काठमाडौं । स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन तथा अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन्।

आक्रमणमा परेको अर्को जहाजमा सवार ११ जना भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको छ।
प्राप्त विवरणअनुसार अक्टोबर ११ मा दुई छुट्टाछुट्टै तेल ट्यांकरमाथि आक्रमण भएको हो। निकारागुआको झण्डा बोकेको एमटी पेट्रो डल्फिन माथि ड्रोनबाट प्रत्यक्ष आक्रमण भएको थियो। उक्त जहाजमा सवार ११ भारतीय नाविकमध्ये दुई जना बेपत्ता भएका छन्।

त्यस्तै, मार्सल आइल्यान्ड्सको झण्डा रहेको अर्को तेल ट्यांकर एमटी भाल्थेरा माथि पनि आक्रमण भएको थियो। आक्रमणपछि जहाजमा आगलागी भएको बताइएको छ। उक्त जहाजमा सवार सबै ११ भारतीय नाविक भने सुरक्षित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यस घटनापछि भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जलक्षेत्रमा व्यावसायिक जहाजलाई लक्षित गरी भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले यस्ता आक्रमणको निन्दा गर्दै समुद्री मार्गमा व्यावसायिक जहाज र तिनमा कार्यरत नाविकको सुरक्षाको महत्त्वमा जोड दिएको छ।