|  

साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ भन्सारको जिम्मा, तस्करीको सञ्जाल खोज्दै प्रहरी

२६ असाेज, काठमाडाैं । काठमाडौंको बूढानीलकण्ठबाट बरामद भएको साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सुन भन्सारमा बुझाइए पनि तस्करीको सञ्जाल पत्ता लगाउन प्रहरीको अनुसन्धान जारी छ। यसका लागि विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरीले असोज २२ गते बूढानीलकण्ठको माथिल्लो भंगालस्थित भाडाको घरमा छापा मारेर २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो। बरामद सुनको तत्कालीन बजार मूल्य करिब ५४ करोड ६० लाख रुपैयाँ रहेको छ।

सुनसँगै पक्राउ परेका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेनमाथि घर नै भाडामा लिएर अवैध सुन प्रशोधन केन्द्र सञ्चालन गरेको आरोप छ। सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको आशंकामा प्रहरीले तस्करीको अन्तर्राष्ट्रिय सञ्जालसमेत खोतलिरहेको छ।