|  

ग्यासका लागि सिफलमा बिहानैदेखि उपभोक्ताको भीड, पाँच सय सिलिन्डर लाइनमा

२६ असाेज, काठमाडाैं । दसैं नजिकिँदै गर्दा काठमाडौंमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ।

सोमबार बिहानैदेखि सिफलमा ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको छ। बिहान ४-५ बजेदेखि लाइनमा बसेका उपभोक्ताले मध्याह्न १२ बजेपछि मात्रै ग्यास पाउन थालेका हुन्। त्यहाँ करिब पाँच सय सिलिन्डर लाइनमा राखिएका छन्। दसैंमा ग्यास अभाव हुन नदिन नेपाल एलपी ग्यास उद्योग संघले आइतबारदेखि काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास वितरण सुरु गरेको छ। कलंकी, बालाजु, पेप्सिकोला, सुकेधारा, सिफल र हरिसिद्धिबाट बिहान साढे ९ देखि अपराह्न ४ बजेसम्म ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको छ।

नेपाल आयल निगमको समन्वयमा सुरु गरिएको यो व्यवस्था फूलपातीसम्म लागू हुनेछ। जुनसुकै कम्पनीको सिलिन्डर अतिरिक्त शुल्कबिना साट्न पाइने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको गुनासो उपभोक्ताले गरेका छन्।