|  

दसैंको मुखमा खसीको मासु महँगियो, प्रतिकिलो १७ सय पुग्दा उपभोक्ता मारमा

२६ असाेज, काठमाडाैं । दसैं नजिकिँदै गर्दा खसीको मासुको मूल्यले उपभोक्तालाई थप मारमा पारेको छ।

गत वर्ष प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा पाइने मासु अहिले १६ सयदेखि १७ सय रुपैयाँ पुगेको छ। व्यवसायीहरूले दसैंमा मूल्य अझ बढ्न सक्ने बताएका छन्। आपूर्ति घट्नु, ढुवानी र दानाको लागत बढ्नु तथा बाढीपहिरोका कारण ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानिएको छ। तर उपभोक्ता अधिकारकर्मीले बिचौलियाको प्रभाव र कमजोर बजार अनुगमनलाई पनि जिम्मेवार ठहर्‍याएका छन्। व्यवसायीका अनुसार दसैंका दुई सातामा काठमाडौं उपत्यकामा मात्रै ८० हजारदेखि एक लाख खसीबोका खपत हुने गर्छन्। यस वर्ष भने करिब २५ हजार खसीबोका मात्रै भित्र्याउने तयारी छ। मासुको मूल्य अत्यधिक बढेकाले यसपालि जिउँदो खसी किन्नेभन्दा थोरै मासु किनेर दसैं मनाउने उपभोक्ता बढ्न सक्ने अनुमान गरिएको छ।