|  

किशोरलाई जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ

२७ असोज, काठमाडौं । १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले गत असोज २३ गते साँझ स्थानीय खजुवा जंगलमा किशोरलाई पुर्‍याएर खुकुरी देखाउँदै धम्क्याउनुका साथै कुटपिट गरेका थिए। घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।