|  

इरानको निर्देशनमा एयरबेसमा आक्रमणको षड्यन्त्र भएको बेलायतको दाबी

२७ असोज, काठमाडौं । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले इङ्ल्यान्डस्थित अमेरिकी सेनाले प्रयोग गर्ने आरएएफ फेयरफोर्ड एयरबेसमा इरानले आक्रमणको षड्यन्त्र गरेको आरोप लगाएका छन्।

सोमबार सांसदहरूलाई सम्बोधन गर्दै बर्नहमले उक्त षड्यन्त्र इरानको इस्लामिक रिभोलुसनरी गार्डको निर्देशनमा रचिएको लगभग निश्चित रहेको दाबी गरे । उनले बेलायतले आफ्नो भूमिमा यस्ता खतरा सहन नगर्ने बताएका छन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो । यद्यपि, सबैलाई धरौटीमा रिहा गरिएको छ र हालसम्म कसैविरुद्ध औपचारिक आरोप तय गरिएको छैन।

सेप्टेम्बर २७ मा एयरबेसनजिकैका बासिन्दालाई घरबाट बाहिर निकालिएको थियो । त्यसपछि सशस्त्र प्रहरी र सेनाका बम निष्क्रिय पार्ने विज्ञले ग्रामीण क्षेत्रमा खोजी अभियान चलाएका थिए ।सुरुमा पक्राउ परेका पाँच संदिग्धसँग सम्बन्धित तीनवटा भ्यानमा पेट्रोल भेटिएको थियो ।

तर, ती गाडीमा विस्फोटक पदार्थ फेला परेको थिएन । पक्राउ परेका सातै जना २० देखि २९ वर्ष उमेर समूहका छन्। उनीहरूमध्ये छ जना बेलायती नागरिक र एक जना बेलायत तथा इरानको दोहोरो नागरिकता भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बेलायतले इरानी राजदूतलाई बोलाएर घटनाबारे चासो व्यक्त गरेको छ। इरानले भने षड्यन्त्रमा आफ्नो संलग्नता अस्वीकार गर्दै आरोप पुष्टि गर्ने प्रमाण मागेको छ।बेलायतले इरानका दुई नागरिकलाई प्रतिबन्ध सूचीमा राखेको पनि जनाएको छ। उनीहरू युरोप र अमेरिकामा इरान सरकारका लागि जासुसी तथा आक्रमणसम्बन्धी गतिविधिमा संलग्न रहेको बेलायती अधिकारीहरूको दाबी छ।