|  

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा छानबिन थालेको छ ।

आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार मंगलबार बिहानदेखि नै घटनासँग सम्बन्धित प्रमाण संकलन भइरहेको छ । आयोगले सांसद सुनार र अडियोमा नाम जोडिएकी महिलासँग पनि कुरा गर्ने तयारी गरेको छ ।

भट्टराईले आरोपको गम्भीरतालाई ध्यानमा राख्दै प्रमाण तथा तथ्यहरूको सत्यापनपछि छिट्टै निष्कर्षमा पुग्ने बताए। आरोप लागेका व्यक्तिलाई आफ्नो धारणा राख्ने अवसर दिइने उनले स्पष्ट पारे।

सांसद सुनारले एक महिलालाई अश्लिल गालीगलौच गरेको, धम्की दिएको अडियो सोमबार सार्वजनिक भएको थियो ।