|  

बाढीपीडितलाई दसैंअघि नयाँ घर, प्रचण्डद्वारा २१ अस्थायी आवास हस्तान्तरण

२७ असाेज, काठमाडाैं । नुवाकोटका बाढीपहिरो प्रभावित २१ परिवारले दसैंअघि नयाँ आश्रय पाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलकोटगढीमा वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवासको चाबी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।
बेलकोटगढी र विदुर नगरपालिकामा निर्माण गरिएका दुई कोठा र शौचालयसहितका प्रत्येक आवासमा करिब चार लाख रुपैयाँ खर्च भएको वाइसीएलले जनाएको छ। कार्यक्रममा प्रचण्डले नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको भन्दै जलवायु न्यायको आवश्यकता औँल्याए। घर पाएपछि प्रभावित परिवारले खुसी व्यक्त गरेका छन्। बाढीले घर पुरिएका श्रीकृष्ण नेपालले नयाँ आवासलाई आफ्ना लागि ‘सिंहदरबार’ सरह भएको बताए।

वाइसीएलका अनुसार आवास निर्माणसहित उद्धार, राहत र पुनर्स्थापनाका काममा ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका थिए। संगठनले प्रभावित क्षेत्रमा सहयोग अभियान जारी राख्ने जनाएको छ।