|  

दसैं-तिहारमा सुरक्षा कडा, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

२७ असाेज, काठमाडाैं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ।

चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन अपराध तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ५० हजार ४५८ प्रहरी परिचालन गरिने भएको हो। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ७ हजार ६६८ प्रहरी खटिनेछन्। यात्रुको सुरक्षाका लागि देशभर ४०८ यात्रु सहायता कक्ष र सीमाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ। सुरक्षा निगरानीका लागि सीसीटीभी, ड्रोन, बडी क्यामेरा र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिनेछ। लामो दूरीका सवारीसाधनमा चालकको अनुमतिपत्र, मादक पदार्थ सेवन, यात्रु क्षमता र सवारीको प्राविधिक अवस्था जाँच गरिने प्रहरीले जनाएको छ।

प्रहरीले चाडपर्वमा अनलाइन ठगीबाट जोगिन र ओटीपी, पिन तथा पासवर्डजस्ता गोप्य विवरण कसैलाई नदिन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।