|  

ग्यासको संयुक्त बिक्री बुधबारदेखि बन्द, पुरानै व्यवस्थामा फर्किने उद्योगीको निर्णय

२७ असाेज, काठमाडाैं । दसैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री बुधबारदेखि बन्द हुने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले बिहीबारदेखि पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री गर्ने जनाएको छ। संघका अध्यक्ष दिवान चन्दका अनुसार डिलरमार्फत नियमित आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्री व्यवस्था बुधबारसम्म मात्रै लागू हुनेछ। यसअघि ११ बिक्री केन्द्रबाट जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन सकिने व्यवस्था गरिएको थियो।

संघले बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई नजिकको डिलरबाट ग्यास खरिद गर्न आग्रह गरेको छ। संयुक्त बिक्री केन्द्रमा लामो लाइन लाग्दा उपभोक्ताले सास्ती खेप्नुपरेको थियो।