|  

ठगी आरोपमा पक्राउ परेकी विनिता खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, नतिजा होल्डमा

२८ असोज, काठमाडौं । ठगी आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी नेतृ विनिता खड्का पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

महिलातर्फको केन्द्रीय सदस्य पदमा उनले २ हजार ८६६ मत प्राप्त गरे पनि केन्द्रीय निर्वाचन समितिले उनको नतिजा होल्डमा राखेको छ।

महिलातर्फका १५ पदका लागि ३६ जनाबीच प्रतिस्पर्धा भएको थियो। खड्का शीर्ष १५ भित्र परेकी हुन्। तर, ठगी प्रकरणमा पक्राउ परेपछि उत्पन्न विवादका कारण उनको नतिजा सार्वजनिक गर्ने विषयमा निर्वाचन समितिले रोक लगाएको हो।

मन्त्रिपरिषद्बाट निर्णय गराएर इजरायल पठाइदिने भन्दै ठगी गरेको घटनामा खड्का पक्राउ परेकी थिइन्। कांग्रेस नेता भरत चौलागाईंमाथि अनुसन्धान गर्ने क्रममा एक करोड रुपैयाँ खड्काको बैंक खातामा जम्मा भएको खुलेपछि उनीमाथि पनि अनुसन्धान अघि बढाइएको थियो।

जिल्ला अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि खड्का रिहा भएकी थिइन्। यद्यपि, केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले उनीमाथि ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।

महाधिवेशनकै क्रममा खड्का पक्राउ परेपछि उनको निर्वाचन परिणाम विवादमा परेको हो।