|  

पुनः श्रम स्वीकृतिको बहानामा घूस लिएको आरोपमा हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ

२८ असोज, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृतिको बहानामा रकम असुल गरेको आरोपमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी पक्राउ परेका छन्।

विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको छ।

असोज २६ गते वैदेशिक रोजगारीमा जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद सकिएको थियो। पुनः श्रम स्वीकृति गराइदिने र यात्रा सहजीकरण गर्ने बहानामा जैशीले रकम लिएको भन्दै अध्यागमन कार्यालयमा फोनमार्फत उजुरी परेको थियो।

उजुरीपछि गरिएको प्रारम्भिक छानबिनमा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ जम्मा भएको पाइएको अध्यागमन स्रोतले जनाएको छ।

विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्दा यात्रुलाई सहजीकरण गर्ने बहानामा जैशीले शंकास्पद गतिविधि गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ।