|  

चुनावअघि इरानमाथि आक्रमण नगर्ने नेतान्याहुको संकेतः आक्रमण भए कडा जवाफ दिने चेतावनी

२९ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् ।

बुधबार इजरायली आर्मी रेडियोसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतान्याहुले चुनावअघि इरानमाथि हमला गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे ।

यद्यपि, उनले चेतावनी दिँदै भने, ‘यदि इरानले इजरायलमाथि आक्रमण गर्‍यो भने त्यसको कडा र निर्णायक जवाफ दिइनेछ।’इरानले मिसाइल प्रहार गरेमा पनि उनका राजनीतिक विरोधीहरूले त्यसको जिम्मेवारी उनैलाई ठहराउनेछन् ।

विपक्षी दलहरूले नेतान्याहुले निर्वाचनमा राजनीतिक लाभ लिनका लागि इरानसँग युद्ध भड्काउन सक्ने आरोप लगाउँदै आएका छन्।

यसै महिना हुने इजरायलको आम निर्वाचनलाई देशको इतिहासकै महत्त्वपूर्ण र संवेदनशील निर्वाचनका रूपमा हेरिएको छ। यस निर्वाचनले प्रधानमन्त्री नेतान्याहुको राजनीतिक भविष्यको तय गर्नेछ।