|  

तेल र ग्यास उत्खनन सुरु हुने ट्रम्पको दाबी ग्रिनल्यान्डद्वारा अस्वीकार

२९ असोज, काठमाडौं । ग्रिनल्याण्ड सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रमा ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको भनी गरेको दाबी खण्डन गरेको छ।

ग्रिनल्याण्डका उप–खानी मन्त्री जोर्गेन ह्यामेकेन–होल्मका अनुसार अमेरिकी कम्पनीहरूबाट केही प्राविधिक तथा अध्ययनस्तरका गतिविधि भइरहे पनि व्यावसायिक उत्खनन सुरु हुन अझै वर्षौँ लाग्न सक्छ। कठोर भौगोलिक अवस्था, बाक्लो बरफ र पूर्वाधारको अभावले उत्खनन कठिन र खर्चिलो बनाएको छ।

डेनमार्कको परराष्ट्र मन्त्रालयले अमेरिकी लगानीकर्ताले ग्रिनल्याण्डको प्राकृतिक स्रोतमा विशेष प्राथमिकता नपाउने र स्थानीय कानुनअनुसार नै काम गर्नुपर्ने स्पष्ट पारेको छ। अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच भएको सम्झौताले पनि यस व्यवस्थामा परिवर्तन नगरेको मन्त्रालयले जनाएको छ।

ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बताउँदै आएका छन्।

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीचको सम्झौतामा सैन्य पहुँच, खनिज सहकार्य र आर्थिक विकासका विषय समेटिए पनि तेल तथा ग्यास उत्खननबारे स्पष्ट उल्लेख छैन। यस विषयले अमेरिका र उसका युरोपेली तथा नेटो साझेदारबीच तनाव बढाएको छ।