|  

अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन

२९ असोज, काठमाडौं । बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस (एफआरआरओ) ले अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईको अगस्ट क्रान्ति मैदानमा आयोजित राजनीतिक प्रदर्शनमा सहभागी भएर विदेशीसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको हो। अक्टोबर १० मा भएको प्रदर्शनका क्रममा प्रहरीले उनलाई केही समय नियन्त्रणमा लिएको थियो।

भारतीय जनता पार्टीका नेता किरीट सोमैयाले अमेरिकी नागरिक तथा ओसीआई कार्डधारक इमरानले भारतको राजनीतिक प्रदर्शनमा सहभागी भएर नियम उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए। उक्त उजुरीमाथि अनुसन्धानका लागि एफआरआरओमा पठाइएको थियो।

प्रहरी अधिकारीका अनुसार एफआरआरओले इमरानलाई ‘इमिग्रेसन एन्ड फरेनर्स एक्ट’ का सम्बन्धित प्रावधान उल्लंघन गरेको आरोपमा नोटिस जारी गर्दै तोकिएको समयभित्र भारत छाड्न निर्देशन दिएको हो।