|  

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चमा नयाँ दुबो रोप्ने

३० असोज, काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ।

असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षतिलाई पुरानै अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने र मर्मतसम्भार गर्ने जनाएको छ।

खुलामञ्चलाई पुनःस्थापना गर्न ४५ दिनको समयसीमा निर्धारण गरिएको छ। जसअनुसार पहिलो १५ दिनभित्र नयाँ दुबो रोप्ने काम सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबोको स्याहार, सिँचाइ तथा संरक्षण गरी परिसरलाई हराभरा बनाइनेछ।

दुबो रोप्ने तथा स्याहारसम्भार गर्ने जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यालयले नेपाली कांग्रेस काठमाडौं महानगर समितिलाई दिएको छ।

पार्टीले सार्वजनिक पूर्वाधारको संरक्षण र वातावरणीय संवेदनशीलतालाई ध्यान दिँदै खुलामञ्चलाई पुनः सुन्दर बनाउने प्रतिबद्धता जनाएको छ।