|  

कांग्रेस केन्द्रीय सदस्यमा सर्वाधिक मत पाउने नेता बने चिरीबाबु 

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मतसहित विजयी भएका छन्। उनले पाँच हजार ३३० मत प्राप्त गरेका छन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार निष्कल राई चार हजार ९५६ मतसहित दोस्रो र बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चार हजार ७३२ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन्।

खुलातर्फ निर्वाचित हुने ४५ केन्द्रीय सदस्यमा प्राडा गोविन्दराज पोखरेलले चार हजार ४६०, इन्जिनियर मोहन आचार्यले चार हजार ३७०, जितनारायण श्रेष्ठले चार हजार ३४७ र प्रवल थापाले चार हजार १७५ मत प्राप्त गरेका छन्।

त्यस्तै, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, विद्वान् गुरुङ र अर्जुनप्रसाद जोशीलगायतका उम्मेदवार पनि निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार खुलातर्फका ४५ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। महर्जनले सबैभन्दा बढी मत प्राप्त गर्दै खुला समूहमा पहिलो स्थान हासिल गरेका हुन्।