|  

मेक्सिकोको तटनजिक डुब्दै गरेको डुंगाबाट १६ जनाको उद्धार, ११ जना बेपत्ता

३१ असोज, काठमाडौं । मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिक समुद्रमा डुब्न लागेको डुङ्गाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना बेपत्ता भएका छन्।

शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १ बजे डुङ्गामा पानी भरिएको भन्दै आपत्कालीन सन्देश प्राप्त भएपछि उद्धार अभियान सुरु गरिएको थियो। घटना मेक्सिकोको एन्सेनाडा सहरबाट करिब २२५ किलोमिटर पश्चिममा भएको हो।

उद्धारका लागि अमेरिकी कोस्ट गार्डका विमान तथा जहाजसँगै नौसेनाको यूएसएस किङ्सभिल जहाज र हेलिकप्टर परिचालन गरिएको थियो। खोजीका क्रममा डुङ्गाका अवशेष फेला परेका छन्।

उद्धार गरिएका १६ जनालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ। उनीहरूमध्ये दुई जना मेक्सिकन नागरिक रहेको अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको कारण खुलेको छैन भने बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको छ।