|  

दसैँ कसैका लागि बोझ नबनोस्, परदेशमा रित्तो निधार लिएर बस्नुपर्ने बाध्यता अन्त्य गर्छौँ : प्रधानमन्त्री बालेन

३१ असाेज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दसैँको शुभकामना दिँदै आर्थिक अभाव र वैदेशिक रोजगारीका कारण नेपालीले भोग्नुपरेको पीडा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

फूलपातीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दसैँ केवल धार्मिक पर्व नभई पारिवारिक मिलन, आत्मीयता, एकता र नेपाली मौलिक संस्कृतिको प्रतीक भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले चाडपर्वमा समेत घर फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य लाखौँ नेपालीको नियति बदल्नुपर्नेमा जोड दिएका छन्। गाउँका घरआँगन रित्तिँदै गएको यथार्थ स्मरण गर्दै उनले देशमै सुखद जीविका र समृद्धिको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्न नहुने भन्दै नागरिकको आर्थिक अवस्था सुधार्न र मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन सरकार अहोरात्र खटिएको दाबी गरेका छन्।
यसैबीच, रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले विस्थापित नागरिकको पुनःस्थापनामा सरकार सक्रिय रहेको बताएका छन्।

असत्यमाथि सत्यको विजयको सन्देश बोकेको दसैँले समाजमा एकता, सद्भाव र सकारात्मक परिवर्तन ल्याओस् भन्ने कामनासहित उनले सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना दिएका छन्।