|  

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति थापाद्वारा शपथ ग्रहण, जिम्मेवारी औपचारिक रूपमा शुरु

३१ असाेज, काठमाडाैं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित विशेष समारोहका बीच केन्द्रिय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गत असोज १८ देखि २३ गतेसम्म राजधानीमा सम्पन्न १५ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च पदमा निर्वाचित भएका थिए ।  शनिवार सानेपामा आयोजित शपथ ग्रहण समारोहमा व्राह्मणहरूद्वारा स्वस्ति तथा वैदिक मन्त्रोच्चारण गरिएको थियो । मन्त्रोच्चारण र धार्मिक विधिका बीच निर्वाचन आयोगका संयोजक खड्काले सभापति थापालाई शपथ खुवाउँदै प्रमाणपत्र समेत हस्तान्तरण गरे ।

सभापति थापाले शपथ लिएपनि महाधिवेशनबाट निर्वाचित अन्य केन्द्रिय पदाधिकारी तथा केन्द्रिय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण भने तत्काल नहुने भएको छ । पार्टी स्रोतकाअनुसार बाँकी निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आसन्न बडादशैँ पर्वपछि मात्र आयोजना गरिनेछ । यस निर्वाचन परिणामसँगै नेपाली काँग्रेसको नेतृत्व तहमा नयाँ पुस्ताको आगमन भएको विश्लेषण गरिएको छ । शपथ ग्रहणपछि सभापति थापाले पार्टीलाई नयाँ ऊर्जा र गतिशील नीतिसहित अगाडि बढाउने अनौपचारिक प्रतिवद्धता व्यक्त गरे । –न्युज एजेन्सी नेपाल