|  

किशोर श्रेष्ठको पक्राउलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै महासङ्घको आपत्ति

३१ असाेज, काठमाडाैं । नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति आपत्ति जनाउँदै उनलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ।

रास्वपा नेता तथा कलाकार हिमेश पन्तको उजुरीका आधारमा धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा प्रकाशित समाचारलाई लिएर श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरिएको हो। समाचारप्रति असहमति भए कानुनी प्रक्रिया र प्रेस काउन्सिलमार्फत समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको महासङ्घको ठहर छ।

महासङ्घले राज्यशक्तिको आडमा पत्रकारमाथि गरिएको यस्तो व्यवहारको भर्त्सना गर्दै सरकारलाई प्रेस विरोधी कदम सच्याउन आग्रह गरेको छ। साथै, समाचारसम्बन्धी विवाद समाधानमा आफ्नो क्षेत्राधिकारअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई पनि आग्रह गरेको छ।